• admin@journalism.academy
  • M8FV+75 Kathmandu

मल्टिमिडिया पत्रकारिता तालिम २०२६, २०२७ र २०२८ का लागि आवेदन खुला

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले आगामी वर्षहरूमा सञ्चालन हुने मल्टिमिडिया पत्रकारिता (Multimedia Journalism) तालिमका लागि आवेदन आह्वान गरेको छ।

जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित जर्नलिजम एकेडेमीले नेपाली पत्रकारहरूका लागि मल्टिमिडिया पत्रकारितासम्बन्धी व्यावहारिक तथा सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ। 

यस कार्यक्रमअन्तर्गत छनौट भएका पत्रकारलाई तालिम शुल्कका लागि इन्टरलिङ्क एकेडेमीले फेलोशिप प्रदान गर्नेछ।

आवेदन सम्बन्धी महत्त्वपूर्ण जानकारी

यस सूचनाअन्तर्गत प्राप्त आवेदनहरू सन् २०२६, २०२७ र २०२८ मा जर्नलिजम एकेडेमीले सञ्चालन गर्ने मल्टिमिडिया पत्रकारिता तालिमका लागि मान्य रहनेछन्। प्राप्त आवेदनहरूलाई एकेडेमीको छनौट प्रक्रियामा समावेश गरिनेछ र तालिमका लागि आवश्यकताअनुसार मिति तथा ब्याच निर्धारण गरी योग्य आवेदकहरूलाई सम्पर्क गरिनेछ।

तालिम सञ्चालन हुने मिति, स्थान तथा अन्य विवरण सम्बन्धित ब्याचका सहभागीहरूलाई समयमै जानकारी गराइनेछ।

कसले आवेदन दिन सक्छन्?

कम्तीमा तीन वर्षको पत्रकारिता अनुभव भएका नेपाली पत्रकारहरूले आवेदन दिन सक्नेछन्। यो आधारभूत तालिम भएकाले मल्टिमिडिया पत्रकारिताको पूर्वअनुभव नभएका पत्रकारहरूले पनि आवेदन दिन सक्नेछन्।

तालिममा के सिकाइन्छ?

तालिममा मोबाइल फोनलाई प्रभावकारी पत्रकारिता उपकरणका रूपमा प्रयोग गर्दै गुणस्तरीय तस्बिर, अडियो तथा भिडियो सामग्री उत्पादन गर्ने सीप विकास गराइनेछ। सहभागीहरूले समाचार तथा फिचर सामग्रीका लागि आवश्यक दृश्य र ध्वनि सङ्कलन, अन्तर्वार्ता रेकर्डिङ, फ्रेमिङ, कम्पोजिसन, प्रकाशको प्रयोग तथा मोबाइल उपकरणबाट उच्च गुणस्तरको सामग्री तयार गर्ने विधिबारे व्यावहारिक प्रशिक्षण प्राप्त गर्नेछन्।

यसका साथै, मोबाइल तथा अन्य सहज उपलब्ध डिजिटल उपकरण प्रयोग गरेर तस्बिर, अडियो र भिडियो सम्पादन गर्ने, विभिन्न डिजिटल प्लेटफर्मका आवश्यकता अनुसार सामग्री तयार गर्ने तथा प्रकाशनका लागि अन्तिम रूप दिने प्रक्रियाबारे सिकाइनेछ। सहभागीहरूले सामाजिक सञ्जाल, समाचार वेबसाइट तथा अन्य डिजिटल माध्यमका लागि उपयुक्त मल्टिमिडिया सामग्री उत्पादन गर्ने अभ्यास पनि गर्नेछन्।

तालिममा मल्टिमिडिया स्टोरीटेलिङका सिद्धान्त र अभ्यासलाई विशेष प्राथमिकता दिइनेछ। कुनै विषय वा घटनालाई तस्बिर, अडियो, भिडियो तथा अन्य दृश्य सामग्रीको संयोजनमार्फत प्रभावकारी रूपमा प्रस्तुत गर्ने तरिका सिकाइनेछ। साथै, मोबाइल पत्रकारिता (MoJo) का अवधारणा, कार्यप्रवाह र उत्कृष्ट अभ्यासबारे प्रशिक्षण प्रदान गरिनेछ, जसले पत्रकारलाई सीमित स्रोतसाधनका बीच पनि गुणस्तरीय सामग्री उत्पादन गर्न सक्षम बनाउनेछ।

सहभागीहरूले समाचार तथा कथा विकासका लागि सामग्री योजना, फिल्ड रिपोर्टिङ, डिजिटल प्रकाशन रणनीति तथा दर्शक–श्रोताको आवश्यकताअनुसार सामग्री तयार गर्ने विधिबारे पनि ज्ञान हासिल गर्नेछन्। तालिमको मुख्य जोड व्यावहारिक अभ्यासमा रहने भएकाले सहभागीहरूले तालिम अवधिभर आफ्नै मल्टिमिडिया सामग्री उत्पादन, सम्पादन र प्रकाशन गर्ने अवसर प्राप्त गर्नेछन्।

तालिम शुल्क र अन्य खर्च

तालिमको नियमित शुल्क रु. ९९,००० रहेको छ तर छनौट भएका सहभागीका लागि इन्टरलिङ्क एकेडेमीद्वारा फेलोशिप उपलब्ध गराइने भएकाले उनीहरूले कुनै शुल्क तिर्नु पर्ने छैन।

काठमाडौँ उपत्यका बाहिरका सहभागीको हकमा यातायात, आवास र अन्य खर्च छनौट भएका सहभागीले स्वयंले बेहोर्नुपर्ने छ । यसका लागि सीमित छात्रवृति उपलब्ध छ जुन आवश्यकता र प्राथमिकताका आधारमा यस्ता तालिमहरूमा सहभागिताका लागि कम अवसर पाउने महिला, सीमान्तकृत समूदाय र दुर्गम स्थानका पत्रकारहरूलाई प्रदान गर्न सकिन्छ । 

तालिमको स्वरूप

तालिम जर्नलिजम एकेडेमीको ‘६+६+६’ मोडलअनुसार सञ्चालन हुनेछ। यसअन्तर्गत:

  • पहिलो चरणमा ६ दिन प्रत्यक्ष कक्षामा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तालिम सञ्चालन हुनेछ।
  • त्यसपछि ६ सातासम्म अनलाइन अभ्यास तथा असाइनमेन्टहरू सञ्चालन हुनेछन्, जसका लागि सहभागीले हप्तामा करिब ६–८ घण्टा समय दिनुपर्नेछ।
  • अन्तिम चरणमा पुनः ६ दिन प्रत्यक्ष कक्षामा उन्नत अभ्यास तथा सामग्री उत्पादनसम्बन्धी तालिम सञ्चालन हुनेछ।

आवेदन दिन के चाहिन्छ?

आवेदकले आफ्नो अद्यावधिक बायोडाटा (CV) PDF वा DOC ढाँचामा तयार गरी आवेदन फाराममार्फत पेश गर्नुपर्नेछ।

तालिमका लागि छनौट भएका सहभागीले आफ्नो सञ्चार संस्था वा कार्यरत कार्यालयबाट तालिममा सहभागी हुन स्वीकृति तथा आवश्यक बिदा प्रदान गरिएको पत्र बुझाउनुपर्नेछ।

छनौट प्रक्रिया

तालिम सहजकर्ता, जर्नलिजम एकेडेमीका प्रतिनिधि तथा इन्टरलिङ्क एकेडेमीका प्रतिनिधि सम्मिलित समितिले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी प्रत्येक ब्याचका सहभागी छनौट गर्नेछ।

छनौट प्रक्रियामा भौगोलिक, लैङ्गिक तथा संस्थागत विविधतालाई ध्यान दिइनेछ। निशुल्क तालिम भएकाले सामान्यतया एकै सञ्चार संस्थाबाट एकभन्दा बढी सहभागी छनौट गरिने छैन।

थप जानकारी

थप प्रश्न वा जिज्ञासाका लागि admin@journalism.academy मा इमेल गर्न सकिन्छ।

आवेदन

आवेदन दिन तयार हुनुहुन्छ भने यहाँ थिच्नुहोस्।