
सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने पत्रकारका लागि डिजिटल सुरक्षा (Digital Security for Journalists) तालिमका लागि आवेदन खुल्ला गरेको छ।
जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित जर्नलिजम एकेडेमीलेले नेपाली पत्रकारहरूका लागि काठमाण्डौंमा यो तालिम सञ्चालन गर्न लागेको हो।
तालिमका लागि छनौट भएका पत्रकारलाई तालिमको शुल्कका लागि इन्टरलिङ्क एकेडेमीले फेलोशीप प्रदान गर्नेछ।
पृष्ठभूमि
नेपालका पत्रकारहरूले डिजिटल असुरक्षाको बढ्दो जोखिममा छन् । मिडिया र पत्रकारहरूलाई लक्षित गर्दै गरिने अनलाइन आक्रमण, डेटा चोरी, सामाजिक सञ्जाल ह्याकजस्ता घटनाहरू बढ्दो छन्, तर अधिकांश पत्रकारहरू अझै पनि डिजिटल सुरक्षाबारे यथेष्ठ सावधानी अपनाउन सक्ने अवस्थामा छैनन् । कमजोर पासवर्ड प्रयोग, असुरक्षित सफ्टवेयर, र अनलाइन सुरक्षा चेतनाको अभावले उनीहरूलाई अझ जोखिममा पुर्याएको छ । अनुसन्धान र पत्रकारहरूसँगको छलफलमा के देखिएको छ भने डिजिटल असुरक्षाका कारण पत्रकार र पत्रकारका स्रोतहरूको सुरक्षा, समाचारको वितरण र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।
नेपालमा पत्रकारका लागि डिजिटल सुरक्षासम्बन्धी सत्रहरू सञ्चालन भए पनि ती सामान्यतः छोटा र व्यवहारिक सीपमा केन्द्रित नभएका देखिन्छन् । यही आवश्यकता बुझ्दै सिएमआर नेपाल जर्नलिजम एकेडेमीले पत्रकारहरूका लागि व्यवहारिक सीपमा आधारित डिजिटल सुरक्षा तालिम संचालन गर्न लागेको हो । यस तालिममा सहभागी पत्रकारहरूले भविष्यमा दुई दिनसम्मको डिजिटल सुरक्षा तालिम संचालन गर्ने क्षमतासमेत विकास गर्नेछन् ।
महत्त्वपूर्ण मितिहरू
तालिम:
सन् २०२५ अगस्ट १० देखि १५ तारिख (विसं २०८२ साउन २५ देखि ३० गते) काठमाण्डौँमा बिहान ९ देखि ५ बजे
काठमाण्डौँमा ६ दिनको तालिम पछिका ६ हप्ता साता अनलाइन कार्य हुनेछ जसमा प्रशिक्षार्थीले हप्ताको ६ देखि ८ घण्टा समय दिनुपर्नेछ।
आवेदन दिने अन्तिम दिन: अगस्ट १ तारिख (साउन १६ गते)
आवेदन यहाँ दिन सकिन्छ तर आवेदन दिनुअघि तलको जानकारीहरू राम्ररी पढ्नुहोस्।
कसले आवेदन दिन सक्छन्?
कम्तीमा तीन वर्ष अनुभव भएका नेपाली पत्रकारहरूले तालिमका लागि आवेदन दिन सक्छन्।
यो तालिम आधारभूत तालिम हो र यसअघि डिजिटल सुरक्षाबारे अनुभव नभएकाहरूले पनि आवेदन दिन सक्छन्।
तालिमका विषय के-के हुन्?
तालिमका डिजिटल सुरक्षा के हो, यो किन आवश्यक छ भन्ने बारेका साथै डिजिटल सुरक्षाका लागि आवश्यक पर्ने सिपहरूमा केन्द्रित हुनेछ। निम्न विषयहरू समेटिने छन्: जोखिम मूल्याङ्कन, कम्प्युटर, मोबाइललगायका उपकरणको सुरक्षा, इन्टरनेट सुरक्षा, गोपनीयता, इमेल र सञ्चार सुरक्षा, पासवर्ड, सोसल मिडिया, डेटा सुरक्षा र अन्य।
तालिम शुल्क कति लाग्छ?
यो तालिम छनौट भएका पत्रकारका लागि निशुल्क हो।
तालिमका छनौट भएका सहभागीको सम्पूर्ण खर्च (काठमाण्डौं उपत्यकाका सहभागीको तालिम शुल्क र उपत्यका बाहिरका सहभागीको तालिम शुल्क, यातायात र आवास खर्च) एकेडेमीले बेहोर्ने छ।
तलिम कस्तो हुन्छ?
तालिम जर्नलिजम एकेडेमीको ६+७ फर्म्याटमा सञ्चालन हुन्छ। यसको अर्थ ६ दिन बिहान ९ देखि ५ बजेसम्म एकेडेमीको कक्षाकोठामा तालिम हुन्छ भने त्यसपछि ७ साता अनलाइनमा सञ्चालन हुन्छ। सबै दिन तालिमका सहभागी हुने र अनलाइन कार्य पूरा गर्ने सहभागीहरूलाई मात्रै तालिमको प्रमाणपत्र प्रदान गरिनेछ।
आवेदन दिन के-के चाहिन्छ?
तपाईँको बायोडेटाको doc वा pdf तयार गरेर यहाँ फाराम भर्न सकिन्छ।
छनौट भएका सहभागीले कार्यरत संस्थाबाट तालिमका लागि स्वीकृति र तालिम अवधिका लागि बिदा दिइएको पत्र बुझाउनु पर्नेछ।
छनौट कसरी गरिन्छ?
तालिम सहजकर्ता, जर्नलिजम एकेडेमीको प्रतिनिधि र इन्टरलिङ्क एकेडेमीको प्रतिनिधिको समितिले प्राप्त आवेदनमध्येबाट १२ जनाको छनौट गर्छ। यसरी छनौट गर्दा समतामूलक समावेशी बनाउन प्रयास गरिन्छ।
एक मिडियाबाट एकभन्दा बढि सहभागी छनौट गरिनेछैन।
थप प्रश्न भए admin@journalism.academy मा इमेल गर्नुहोस्।
आवेदन दिन तयार भए यहाँ थिच्नुहोस्।
